Wednesday, September 23, 2015

यस कारण घट्दैछ सेयर !

यस कारण घट्दैछ सेयर 


काठमाडौं: संविधान बन्ने आशमा लगातारजसो बढेको सेयर बजारले संविधान बनिसकेपछि ओरालो गति समातेको छ। 
 
संविधान पारित भएकै दिनदेखि बजार ओरालो लाग्न थालेको हो। मंगलबारमात्रै नेप्से परिसूचक ४० अंकले तल ओर्लिएको छ। 
बजार ३.३४ प्रतिशतले घट्दा नेप्से परिसूचक ११५६.०८ विन्दुमा आइपुगेको छ। नेपालको संविधान निर्माणपछि असन्तुष्ट बनेको भारतले अप्रत्यक्षरूपमा नाकाबन्दी गरेको खबर सार्वजनिक भएपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको हो।
भारतले नाकाबन्दी गर्ने अनि तराईमा आन्दोलन थप चर्किन सक्ने भयका कारण लगानीकर्ता सेयर बिक्री गर्ने मुडमा देखिएका ब्रोकर बताउँछन्।ठूलाले केही प्रतिशत नाफा बुक गर्न थालेको सुईंको पाएपछि मध्यमस्तरका र साना लगानीकर्तालाई समेत सेयर बिक्री गर्न दबाब परेको छ। भूकम्पपछि र नयाँ मौद्रिक नीति आउनुअघि सेयर किनेकालाई यतिबेला राम्रै नाफा भइसकेको छ। आन्दोलन र नाकाबन्दीको त्रासका कारण नाफा कमाइसकेका लगानीकर्ताले आफूसँग भएका सेयरमध्ये निश्चित प्रतिशत नाफा बुक गर्न खोजेको मंगलबारको बजार प्रवृत्तिले देखाएको छ। 
 
यतिमात्र होइन, संविधान पारित भएकै बेलाको आसपासमा मारवाडी समुदायका केही ठूला लगानीकर्ताले सेयर बिक्री गरेका छन्। पुँजी बजारका ठूला लगानीकर्तामा मारवाडी समुदायको वर्चस्व छ।
 
संविधान बनेपछि सेयर बजार उच्चगतिले बढ्ने आमअपेक्षाविपरीत घट्न थालेपछि नयाँ र साना लगानीकर्ता मारमा परेका छन्। संविधान बनेपछि सेयर भाउ बढ्ने अनुमानमा पछिल्लो समय धेरैले सेयर किनेका छन्। 
 
बैंकबाट ऋण लिएर सेयर किन्ने तथा ठूलो पोर्टफोलियो भएका लगानीकर्ताले नाफा हुने बित्तिकै आफूसँग भएका सेयरमध्ये निश्चित प्रतिशत बिक्री गर्छन् । ठूलाले थोरै प्रतिशत बिक्री गरे पनि बजारमा त्यसको प्रभाव देखिन्छ।
 
यसबाहेक सामूहिक लगानी कोष कम्पनीले पनि छिटोछिटो नाफा बुक गर्ने प्रवृत्ति हुन्छ। यसबाट केही समय बजारमा सामान्य गिरावट आउने गर्छ । अहिले त्यही भएको ब्रोकरको भनाइ छ। 
 
कतिपय लगानीकर्ता संविधान बनेपछि सेयर बिक्री गर्ने तयारीमा रहेकाले त्यसको प्रभाव बजारमा देखिएको हो।ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नन्दकिशोर मुन्दडा भारतले नाकाबन्दी लगाउन सक्ने डरले लगानीकर्ता अतालिँदा बजार बजारमा नकारात्मक असर परेको बताउँछन्। 
 
'नेप्से धेरै अंकले तल झर्ने अवस्था नभए पनि तराई आन्दोलन र भारतले नाकाबन्दी लगाउने आशयका खबरले लगानीकर्ताले नाफा बुक गरेका हुन्' , उनले भने।सेयर बजार विश्लेषक भने तत्काल बजारमा ठूलो गिरावट आउने अवस्था नरहेको बताउँछन्। 
 
तत्काल केही अंकले घटे पनि बजार फेरि करेक्सन भइहाल्ने उनीहरूको भनाइ छ। विश्लेषकका भनाइको आधारमा सेयर बजार धेरै तल आउन नसक्नुको सबैभन्दा दरो कारण राष्ट्र बैंकको चुक्ता पुँजी बढाउने निर्देशन नै हो। 
 
दुई वर्षभित्र चुक्ता वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रूपैयाँ पुर्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ।यसैगरी, विकास बैंक र फाइनान्स कम्पनीले पनि आठ गुणाकै दरले चुक्ता पुँजी बढाउनुपर्छ। 
 
यसका लागि बैंकले नाफाबाट बोनस सेयर दिने, हकप्रद जारी गर्ने वा अर्को संस्थासँग मर्ज गर्नुपर्ने हुन्छ। धेरै नाफा कमाएका र सञ्चित कोष बलियो भएका बैंकले आकर्षक बोनस सेयर दिने सम्भावना छ। यसैगरी, बलियो संस्थापक समूह भएका संस्थाले हकप्रद जारी गर्दैछन्। 
 
यी दुवै गर्न नसक्नेले मर्जमा जानुपर्ने हुन्छ । यी तीनवटै अप्सनबाट लगानीकर्ताले पर्याप्त फाइदा लिन सक्ने भएकाले यतिबेला सेयर बजारबाट लगानीकर्ता बाहिरी हाल्ने अवस्था देखिंदैन। बैंकसँगै बिमा कम्पनीमा पनि चुक्ता पुँजी वृद्धि गर्ने योजना छ। पुँजी वृद्धि योजनाका कारण अधिकांश बिमा कम्पनीको सेयर भाउ माथिल्लो बिन्दुमा विन्दुमा टिकिरहेको छ।
 
ब्रोकर्स एसोसिएनकै पूर्वअध्यक्ष नरेन्द्रराज सिजापति संविधान बनेपछि बजार ह्वात्तै बढ्ने अपेक्षा गरिएको भए पनि भारतले नाकाबन्दी लगाउने तयारी गरेको खबरले लगानीकर्ता निरुत्साही भएका बताए।'भारतीय नाकाबन्दी र तराई आन्दोलन जारी रहेमा बजारलाई असर गर्न सक्छ' , उनले भने। 
 
संविधान बनेको खुसीयालीमा बजार घट्नुपर्ने अन्य कुनै कारण नरहेको सिंजापतिको भनाइ छ। बजार घटेपनि कारोबार रकम उच्च रहेको छ। मंगलबारमात्रै ५३ करोड २९ लाख ४३ हजार रूपैयाँको आठ लाख ३६ हजार सात सय ८६ कित्ता सेयर खरिदबिक्री भएको छ।
 
कारोबार रकम उत्साहप्रद रहेकाले बजारलाई सहयोग पुगेको देखिन्छ । नेप्सेसँगै कारोबार रकममा समेत ह्रास आयो भने बजार थप तल जान सक्ने सम्भावना हुन्छ। 
 
यतिबेला, बैंकमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताले सजिलै ऋण पाएका छन् भने निक्षेपकर्तालाई बैंक पाँच प्रतिशतभन्दा कम ब्याजदर दिएकाले बैंकमा जम्मा गर्नुभन्दा सेयरमै आकर्षित हुने अवस्था छ।
 
केन्द्रीय निक्षेप प्रणाली क्रमशः कार्यान्वयनमा रहेकाले सेयर किनबेच निकै सहज हुँदैछ । यस्तो अवस्थामा बजार निकै ठूलो विन्दुले तल आइहाल्ने अवस्था छैन।