Monday, August 6, 2018

शेयर नामसारी हुने नयाँ बिधि !

काठमाडौं : सेयर नामसारीको झन्झटिलो प्रक्रियालाई सहज बनाउन घरायसी तथा मृत्यु नामसारी कार्यविधि–२०७५ निर्माणको अन्तिम चरणमा पुगेको छ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) लिमिटेडले निर्माण गरेको यो कार्यविधि माथि हाल नियामक नेपाल धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ । अहिलेको तयारी अनुसार काम सम्पन्न भएमा सम्भवतः आगामी सातादेखि नै यो नयाँ कार्यविधि कार्यान्वयनमा आउने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवप्रकाश गुप्ताले बताए ।

सीडीएसले कार्यविधि बनाएर यसअघि धितोपत्र बोर्डमा पठाएको थियो । बोर्डले त्यसमा केही सुधार गर्न निर्देशन अनुसार सुधार गरी पुनः बोर्डमा नै पठाएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कार्यविधिमा छलफल भएको र केही दिनभित्रै बोर्ड बैठक बसी पारित गरिने नेपाली पैसालाई जानकारी गराए । बोर्ड बैठकले कार्यविधि पारित गरेपछि कार्यान्वयनका लागि सीडीएसमा पठाउनेछ । बोर्डले पठाएपछि एक पटक सीडीएसको सञ्चालक समितिको बैठक बसेर पारित गर्नेछ । त्यसपछि यो कार्यान्वयनको प्रक्रियामा जानेछ ।


अहिले कसरी हुन्छ नामसारी ?

सीडीएसले एक व्यक्तिको नाममा रहेको सेयर अर्को व्यक्तिको नाममा नामसारी गर्न विद्यमान प्रावधान झन्झटिलो भएको भन्दै यसलाई सहजीकरण गर्न नयाँ कार्यविधि बनाएको हो । कार्यविधि लागू भएपछि हाल देखिएको झन्झट न्यून हुने अपेक्षा गरिएको छ । हाल नामसारीका लागि नेप्सेमा जानुपर्छ । त्यसपछि नेप्सेले सम्बन्धित कम्पनीमा पठाउने गर्छ । त्यहाँ विभिन्न प्रक्रिया पूरा गर्दा लामो समय लाग्ने गर्दा लगानीकर्ता तथा सेवाग्राही मारमा पर्ने गरेका छन् ।

अब यसरी सजिलो हुन्छ

अब भने निक्षेप सदस्य (डीपी) मा जाने र डिपीमा आवश्यक कागजात पुर्याएपछि डीपीले सीडीएसमा पठाउनेछ । सीडीएसले एप्रुभ (प्रमाणित) गरेपछि नामसारी गरिएको सेयर डिम्याट खातामा जम्मा हुनेछ । यसले गर्दा अभौतिक रुपमा रहेको सेयर भौतिक हुने र लगानीकर्ताको समय पनि बचत हुने सीडीएसका प्रवक्ता सुरेश न्यौपानेको भनाई छ ।

क–कसको र कसरी हुन्छ सेयर नामसारी ?

एकाघरको र मृत्यु सम्बन्धी सेयर नामसारी हुने गरेको छ । तीन पुस्ता भित्र घरयासी नामसारी गर्ने प्रकृयालाई एकाघरको नामसारी भन्ने गरिन्छ । मृत्यु भएका व्यक्तिको सेयर नामसारी गर्नका लागि मृत्यु दर्ताको प्रमाणपत्र अनिवार्य हुन्छ । साथै, सेयरको कागजपत्र सहित हकवाला वा इच्छाएको व्यक्तिले नेप्सेमा निवेदन दिनुपर्छ । मृत्यु नामसारी गर्न भने एक जना साक्षी आवश्यक पर्ने गर्दछ ।

नेप्सेले नामसारीका लागि सिफारिस गरेपछि सम्बन्धित कम्पनीले ३५ दिने सूचना निकाल्छ । त्यो अवधिमा हकदाबी गर्ने अन्य कोही भए हकदाबी सहित निवेदन दिन आह्वान गरिन्छ । तोकिएको त्यस अवधिमा यस्तो व्यक्ति नभएको खण्डमा भने निवेदक वा सम्बन्धित व्यक्तिलाई नामसारी गरिन्छ । तर एक भन्दा बढी व्यक्तिले हकदावी गरेमा हकवादीका लागि परेको निवेदनकर्ताहरु आपसमा सहमति गरेर आएपछि मात्र नामसारी हुने गर्दछ । अन्यथा नामसारी गर्न नमिल्ने व्यवस्था रहेको छ ।

यस अघि नामसारीका लागि नेप्सेमा जानु पर्ने थियो । तर अब निक्षेप सदस्य (डीपी) मा गए पुग्नेछ । कार्यविधि पास भएर कार्यान्वयनमा आएपछि नेप्सेमा धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ । सेयर नामसारी गर्दा निश्चित शुल्क तिर्नुपर्छ ।


सेयर नामसारी गर्दा कति तिर्नुपर्छ शुल्क

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली–२०६८ को अनुसूची २५ मा भएको व्यवस्था अनुसार नै शुल्क लाग्ने सीडीएससीका प्रवक्ता न्यौपानेले बताए । नियमावलीको अनुसूचीको 'क' को व्यवस्था अनुसार मुत्यु नामसारी गर्दा १ लाखसम्म ०.५% वा न्यूनतम २५ रुपैयाँ, १ लाखदेखि ५ लाखसम्म ०.२% वा न्यूनतम ५००, ५ देखि १० लाख रुपैयाँसम्म ०.१५% वा न्यूनतम १००० र १० लाख भन्दा माथि चुक्ता रकम भएको खण्डमा निक्षेप सदस्यले ०.१% वा न्यूनतम १५०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।

यो शुल्क निक्षेप सदस्यले लगानीकर्तासँग लिए पनि २०% सीडीएसलाई बुझाउनुपर्ने उल्लेख छ । घरायसी नामसारी दस्तुर वापत निक्षेप सदस्यले नामसारी गरिने धितोपत्रको चुक्ता रकमको २% वा न्यूनतम २०० लिनुपर्ने उल्लेख छ । यस्तै, निक्षेप सदस्यले लिएको शुल्कको २०% सीडीएससीलाई बुझाउनुपर्ने नियमावलीको अनुसूची २५ को 'ख' मा व्यवस्था गरिएको छ ।


Sent from my iPhone

धितोपत्र नामसारी !

http://www.nepalipaisa.com/NewsDetail.aspx/id/22772


Sent from my iPhone